नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते सम्बोधनकै क्रममा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई बोल्न समय दिनुभएको थियो ।
सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राख्नुभएको छ । बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको थियो ।
बैठकमा सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन माग गर्नुभयो । विसं २०७७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा राख्ने विषयमा राष्ट्रिय सहमति जुटेको उहाँले स्मरण गर्नुभयो ।
यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरु सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर शाहीलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।

