
नेपालीहरूको महान् चाड विजयादशमी २०८३ मनाउन यसपटक आफ्नै जन्मथलो पुग्ने अवसर मिल्यो। वर्षभरि आ–आफ्नो कर्मथलोमा व्यस्त रहेका आफन्त, साथीभाइ र देशविदेशमा छरिएका गाउँलेहरू पनि दशैँ मनाउन जन्मभूमि फर्किएका थिए। सुनसानजस्ता देखिने गाउँका आँगनमा केही दिनका लागि भए पनि चहलपहल बढेको थियो। वर्षौंपछि भेटिएका अनुहारमा खुसी थियो, घरआँगनमा हाँसो थियो र गाउँका गोरेटाहरूमा पुराना सम्झनाका पदचाप सुनिन्थे।
तर त्यो खुसीभित्र एउटा गहिरो पीडा पनि लुकेको रहेछ। दशैँको रमझमसँगै मनमा एउटा प्रश्न बारम्बार उठिरह्यो -चाडपर्व सकिएपछि फेरि यी गाउँबस्ती कसका लागि पर्खिरहनेछन् ?
पाँच दिन गाउँमा बिताउँदा बाल्यकालदेखि युवावस्थासम्मका अनगिन्ती सम्झनाहरू मानसपटलमा चलचित्रका दृश्यझैँ घुमिरहे। तिनै उकाली–ओराली, तिनै वनपाखा, तिनै खेतबारी र तिनै गोरेटाहरू, जहाँ जीवनका अनेकौँ सङ्घर्षसँगै हाँसो, खुसी, दुःख र सपनाहरू साटिएका थिए।
कहिले घाँसको भारी बोकेर उकाली चढेका दिन सम्झिएँ, कहिले दाउराको भारीसँगै ओराली झरेका क्षण। कहिले साथीभाइसँग वनपाखामा सुसेली हालेको सम्झना आयो त कहिले खेतबारीमा पसिना बगाउँदै भविष्यका सपना बुनेका दिनहरू आँखाअगाडि आए।
ती निर्जीवजस्ता देखिने पाखापखेरा पनि आज बोलिरहेका छन् कि जस्तो लाग्यो। मानौँ, ती वनजङ्गलले भनिरहेका थिए— ‘हिजो हाम्रो काखमा रमाउने ती युवाहरू आज कहाँ पुगे ? हाम्रो छातीमा पसिना बगाउने हातहरू किन हराए ?’
एकछिन टक्क अडिएँ। चारैतिर नियालेँ। मन भावुक भयो। समय कति छिटो बदलिँदो रहेछ !
विकासले फेरिएको गाउँ, तर हराउँदै गएको गाउँको जीवन
हिजोका कठिन गोरेटाहरू आज मोटरबाटोमा परिणत भएका छन्। अँध्यारा गाउँबस्तीमा बिजुलीको उज्यालो पुगेको छ। घण्टौँ हिँडेर पानी बोक्नुपर्ने बाध्यता धेरै ठाउँमा घरघरका धाराले हटाएका छन्।
इन्टरनेटको पहुँच विस्तार भएको छ। स्वास्थ्यचौकी, एम्बुलेन्स सेवा र कक्षा १२ सम्म अध्ययन गर्ने विद्यालयजस्ता सुविधाले गाउँको मुहार फेरिएको छ।
कुनै समय आधारभूत सुविधाका लागि समेत सङ्घर्ष गर्नुपर्ने मेरो गाउँ आज भौतिक पूर्वाधारका दृष्टिले सहरबजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको देख्दा गर्व लाग्यो।
तर विडम्बना !
गाउँमा सडक पुग्यो, तर त्यही सडक भएर युवाहरू बाहिरिए। घरघरमा बिजुली बल्यो, तर घरका आँगन सुनसान भए। खानेपानीका धारा बने, तर ती धारामा पानी भर्ने हातहरू हराउँदै गए। विद्यालयका भवन बने, तर कक्षाकोठामा विद्यार्थीको सङ्ख्या घट्दै गयो।
विकासको उज्यालो त गाउँसम्म पुग्यो, तर त्यो उज्यालोमा रमाउने पुस्ता गाउँमै अडिन सकेन।
आज गाउँमा वृद्ध बुबाआमा छन्, केही बालबालिका छन् र सीमित सङ्ख्यामा महिलाहरू छन्। तर गाउँको भविष्य बोक्ने ऊर्जाशील युवापुस्ता भने कोही सहरमा छ, कोही खाडी मुलुकमा, कोही मलेसियामा त कोही युरोप, अमेरिका र अस्ट्रेलियामा आफ्नो भविष्य खोजिरहेको छ।
खेतबारी बाँझिए, वनपाखाले युवाहरूलाई बोलाइरहे
हिजो अन्नका बालाले झुल्ने खेतबारी आज झाडीमा परिणत भएका छन्। मकै, कोदो र धान फल्ने पाखाहरूमा बनमारा र सिस्नु उम्रिएका छन्। पसिनाले सिञ्चिएका करेसाबारीहरू उजाड देखिन्छन्।
कुनै समय बिहानैदेखि साँझसम्म किसानको चहलपहल हुने खेतहरू आज मौन छन्। लाग्छ, ती बाँझिएका खेतबारीले आफ्ना मालिकहरूलाई पर्खिरहेका छन्। ती वनपाखाले घाँसदाउरा गर्न आउने युवायुवतीलाई सम्झिरहेका छन्। ती पुराना कुवाहरूले पानी भर्न आउने गाउँलेका पाइला कुरिरहेका छन्।
तर समयले मानिसलाई यति टाढा पुर्याइसकेको छ कि फर्किने चाहना भएर पनि फर्किने आधार कमजोर हुँदै गएको छ।
गाउँमा घर छन्, तर घरमा मान्छे छैनन्। खेत छन्, तर खेती गर्ने किसान छैनन्। विद्यालय छन्, तर पढ्ने बालबालिका घट्दै छन्। बाटो छ, तर त्यो बाटो भएर गाउँ फर्किनेभन्दा गाउँ छाड्नेहरूको सङ्ख्या बढ्दो छ।
यो केवल एउटा गाउँको कथा होइन। देशका धेरै पहाडी तथा ग्रामीण बस्तीले भोगिरहेको साझा पीडा हो।
सबैभन्दा डरलाग्दो अवस्था त के छ भने कतिपय गाउँमा विवाह हुँदा जन्ती जुटाउन र मृत्यु हुँदा मलामी पाउनसमेत कठिन हुने परिस्थिति सिर्जना भइरहेको छ।
यो दृश्यले एउटा सञ्चारकर्मीका रूपमा मलाई गम्भीर बनायो। पाँच दिन गाउँमा बस्दा मनमा एउटै प्रश्नले निरन्तर घोचिरह्यो— आखिर हामी कस्तो विकासको यात्रामा छौँ ?
युवाहरू रहरले विदेशिएका हुन् कि बाध्यताले ?
गाउँमा भेटिएका स्थानीयसँग कुराकानी गर्दा उनीहरूका पीडा झनै गहिरा लागे।
खेती गर्न समयमै मल पाइँदैन। गुणस्तरीय बीउबिजनको अभाव हुन्छ। उत्पादनको उचित मूल्य पाइँदैन। बजारसम्म पहुँच सहज छैन। कृषि उपज बिक्री गरेर लागतसमेत उठाउन कठिन हुन्छ।
यस्तो अवस्थामा किसानले खेती किन गर्ने ? युवाले गाउँमै बसेर भविष्य कसरी बनाउने ? जबसम्म श्रमको सम्मान हुँदैन, उत्पादनले बजार पाउँदैन र मेहनतअनुसार आम्दानी सुनिश्चित हुँदैन, तबसम्म युवालाई गाउँमै बस भन्नु केवल भावनात्मक आग्रह मात्र हुनेछ।
आफ्नो जन्मभूमि, परिवार र आफन्त छाडेर परदेशिनु कसैको पहिलो रोजाइ नहुन सक्छ। धेरै युवाका लागि वैदेशिक रोजगारी रहरभन्दा पनि बाध्यता बनेको छ।
आफ्नै देशमा पसिना बगाएर परिवार पाल्न सक्ने वातावरण भएको भए कति युवाले विदेशी भूमिमा आफ्नो जवानी खर्च गर्थे होलान् ?
राजनीतिक नेतृत्वले कहिले सुन्ने गाउँको मौन चित्कार ?
पछिल्ला तीन दशकभन्दा बढी समयदेखि मुलुकको शासनसत्तामा विभिन्न राजनीतिक दल र नेतृत्वको प्रभाव रहँदै आएको छ।
व्यवस्था परिवर्तन भए। संविधान फेरियो। सरकारहरू बने र ढले। नेताहरूका भाषण फेरिए। विकास र समृद्धिका नारा पनि पटकपटक सुनिए।तर आमयुवाको एउटा आधारभूत प्रश्न अझै अनुत्तरित छ— ‘म आफ्नै देशमा बसेर सम्मानपूर्वक जीवनयापन गर्न किन सक्दिनँ ?’
कृषिप्रधान देश भनेर चिनिने नेपालमा खेतीयोग्य जमिन बाँझिँदै जानु, उत्पादनशील जनशक्ति विदेशिनु र गाउँबस्ती खाली हुँदै जानु सामान्य विषय होइन।
यो हाम्रो विकास नीति, कृषि प्रणाली, रोजगारी सिर्जना र राजनीतिक नेतृत्वको कार्यसम्पादनमाथि उठेको गम्भीर प्रश्न हो।
युवालाई देशमै रोक्ने हो भने भाषणमा रोजगारी होइन, व्यवहारमा रोजगारी चाहिन्छ। कृषिमा अनुदानको घोषणा मात्र होइन, वास्तविक किसानसम्म सुविधा पुग्नुपर्छ। सीप र योग्यताअनुसार काम गर्ने वातावरण बन्नुपर्छ।
गाउँमा सडक पुर्याउनु मात्र विकास होइन, त्यही सडक भएर बाहिरिएको युवा फेरि गाउँ फर्किएर उद्यम गर्न सक्ने वातावरण बनाउनु वास्तविक विकास हो।
अब बालेन नेतृत्वको सरकारसँग युवाको अपेक्षा
युवापुस्ताले परिवर्तनको आशा र भरोसा गरेको बालेन नेतृत्वको सरकारका अगाडि पनि यही चुनौती उभिएको छ। युवाहरूको विश्वासलाई केवल राजनीतिक समर्थनका रूपमा होइन, देश निर्माणको ऐतिहासिक जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ।
देशमै रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यावसायिक बनाउने, ग्रामीण उद्यमशीलता बढाउने, सीपमूलक शिक्षालाई प्राथमिकता दिने र युवालाई गाउँमै आत्मनिर्भर बन्न प्रेरित गर्ने ठोस कार्यक्रम अबको आवश्यकता हो।
सरकारले तत्काल परिणाम देखिने र दीर्घकालीन प्रभाव पार्ने कार्ययोजना अघि सार्नुपर्छ। अन्यथा परिवर्तनप्रतिको युवाको भरोसा फेरि निराशामा परिणत हुन सक्छ।
आज गाउँका घरहरू खाली भइरहेका छन्। भोलि सहरका घरहरू पनि वृद्ध अभिभावकको प्रतीक्षालयमा परिणत नहोलान् भन्न सकिँदैन। यही क्रम निरन्तर बढिरहे आगामी दस वर्षमा ग्रामीण जनजीवन अझ गम्भीर सङ्कटमा पर्न सक्ने खतरा छ।
देश रित्तिएपछि शासन कसका लागि ?
सरकार र राजनीतिक नेतृत्वले समयमै बुझ्नुपर्ने कुरा के हो भने देश केवल भूगोल होइन। देश भनेको त्यहाँ बस्ने नागरिक हुन्। देश भनेको खेतबारीमा पसिना बगाउने किसान हुन्। देश भनेको गाउँका विद्यालयमा पढ्ने बालबालिका हुन्। देश भनेको भविष्यको सपना बोकेका युवायुवती हुन्।
मानिसविहीन गाउँ, उत्पादनविहीन खेत र युवाविहीन समाजले समृद्ध राष्ट्रको कल्पना पूरा गर्न सक्दैन। देशका नागरिक नै विदेश पलायन भइरहे भने विकास कसका लागि ? समृद्धि कसका लागि ? अनि शासन गर्नेचाहिँ कसका लागि ?
यो प्रश्न आज प्रत्येक जिम्मेवार राजनीतिक नेतृत्वले आफैँलाई सोध्नुपर्ने बेला आएको छ।
दशैँ सकियो, गाउँ फेरि प्रतीक्षामा छ
पाँच दिनको दशैँ बिदा सकियो। कर्मथलो फर्किने समय आयो।
फर्किने बेला एकपटक फेरि आफ्नै घरआँगन, खेतबारी र ती परिचित डाँडापाखालाई नियालेँ।
मनमा अनौठो पीडा भयो।
दशैँका लागि फर्किएका छोराछोरी, नातिनातिना र आफन्तलाई बिदाइ गर्दै गरेका वृद्ध बुबाआमाका आँखामा खुसीसँगै बिछोडको पीडा पनि देखिन्थ्यो।
चाडपर्वले केही दिनका लागि भरिएका घरआँगन फेरि सुनसान हुँदै थिए।
मोटरबाटोमा गाडीहरू गुडिरहेका थिए। तर ती गाडीले गाउँमा मानिस भित्र्याउनुभन्दा गाउँबाट मानिस बाहिर लैजाँदै थिए।
लाग्यो, गाउँका पाखापखेरा अझै पनि हामीलाई बोलाइरहेका छन्।
ती बाँझा खेतहरूले अझै किसानका पाइला कुरिरहेका छन्। ती पुराना चौतारीहरूले अझै युवाहरूको हाँसो खोजिरहेका छन्। ती वृद्ध आँखाहरूले अझै आफ्ना सन्तान फर्किने बाटो हेरिरहेका छन्।
तर प्रश्न एउटै छ— आखिर कहिलेसम्म ?
अब गाउँलाई चाडपर्वमा फर्किने पाहुना मात्र होइन, गाउँमै भविष्य निर्माण गर्ने सन्तान चाहिएको छ।
राज्यले समयमै नागरिकलाई आफ्नै माटोमा पसिना बगाएर बाँच्न सक्ने आधार दिनुपर्छ। युवाले विदेशमा मात्र होइन, आफ्नै जन्मभूमिमा पनि सपना देख्न र पूरा गर्न सक्ने वातावरण बन्नुपर्छ।
किनकि गाउँ रित्तिनु भनेको केवल केही घर खाली हुनु होइन, हाम्रो इतिहास, संस्कृति, परम्परा, उत्पादन र सामाजिक सम्बन्धको जग कमजोर हुँदै जानु हो।
दशैँमा गाउँ फर्किँदा मैले देखेको विकासले मन खुसी बनायो, तर रित्तिँदै गएको गाउँले मन रुवायो।
अन्त्यमा मनमा एउटै कामना रह्यो—
फेरि ती बाँझा खेतमा सुनौला बाला झुलून्।
फेरि ती वनपाखामा युवाका सुसेली गुञ्जिऊन्।
फेरि गाउँका चौतारीमा हाँसो फर्कियोस्।
फेरि वृद्ध बुबाआमाका आँखामा प्रतीक्षाको होइन, सन्तानसँगै बस्न पाएको खुसीको चमक देखियोस्।
गाउँमा विकास मात्र होइन, जीवन पनि फर्कियोस्।
किनकि गाउँ बाँचे देश बाँच्छ, गाउँ रित्तिए देशको आत्मा रित्तिन्छ।

