नवराज घिमिरे ।
काठमाडौं, २० मंसिर ।
राप्रपाको एकता महाधिवेशन सकिएकोछ । राजसंस्थाको पुनःस्थापना र हिन्दुराष्ट्रको एजेण्डा पारित गर्दै नयाँ नेतृत्व चयन भएको छ । राजेन्द्र लिङ्देनको हातमा राप्रपाको बागडोर आइपुगेको छ ।
हुन त यस महाधिवेशनलाई एकताको महाधिवेशन नामकरण गरिएको थियो तर महाधिवेशनको स्थिति हेर्दा एकता महाधिवेशनजस्तो चाहिँ लाग्दैनथ्यो । पञ्चायतकालदेखिका खेलाडी कमल थापा र राजेन्द्र लिङ्देन आ–आफ्नो प्यानल बनाएर मैदानमा उत्रिएका थिए । राप्रपामा तीन दशकभन्दा लामो समयदेखि नेतृत्वदायी भूमिकामा बसेर जरो गाडेका कमल थापाले आफूलाई निकै ठूलो राजकीय ठाँटका रूपमा प्रस्तुत गरेका थिए तर परिवर्तनकामी नेपाली जनताले राजेन्द्र लिङ्देनमार्फत् आफ्नो अभिमत प्रकट गरिदिए । समयको माग र मतदाताको चाहनालाई बुझ्न नसक्ता थापा नराम्ररी चिप्लिन पुगे ।
नेता त्रय अध्यक्षहरूमध्ये दुईजनाले समयको हाँक र मतदाताको नेतृत्व परिवर्तनको चाहना बुझेरै प्रतिस्पर्धामा भाग नलिने निर्णय गर्दा कमल थापाले पनि अन्तिम अवस्थामा भए पनि एकताको सन्देश दिन भन्दै राजेन्द्र लिङ्देनलाई समर्थन गरिदिएको भए सुनमा सुगन्ध हुने थियो, तल्लो तहसम्म साँच्चै एकताको सन्देश जाने थियो र राप्रमा नयाँ दिशातिर गतिशील भएको सकारात्मक सन्देश फैलिन्थ्यो । तर, दम्भको उचित व्यवस्थापन हुन नसक्ता उनी पराजित मात्र भएनन्, फेरि पनि एकताको सन्देशमैं आँच आउने अवस्था देखियो ।
कमल थापाले लिङ्देनको साइज हेरे, आर्थिक अवस्था हेरे, साधारण जीवन शैली हेरे तर जनसमर्थन हेर्न सकेनन्, समयको मागलाई चिन्न सकेनन् । अनि, आफू मिति सकिएको औषधि भइसकेको पनि पत्तै पाएनन् ।
लोकतन्त्रमा चुनावी जय वा पराजय दुबैलाई स्वीकार्न सक्नुपर्छ । आफूले जित्ता सबै ठीक र पराजय भोग्दा अरूलाई लाञ्छित गर्ने परिपाटी सुहाउने कुरा होइन । कमल थापाजस्तो परिपक्व राजनीतिक खेलाडीले पराजयको पीडा सहन नसकेर पूर्वराजालाई जुन लाञ्छना लगाए, त्यो उनको हैसियत र मर्यादाले नदिने कुरा थियो । यस अभिव्यक्तिले कमल थापाको पुरानो छविलाई धमिल्याइदिएको मात्र छैन, उनको राजनीतिक उचाइलाई समेत घटाइदिएको छ । उनी गोठाले शैलीमा नउत्रिदिएको भए उनैलाई राम्रो हुने थियो ।
नेपाली नेताहरूमा आत्मचिन्तन र आत्मसमीक्षा गर्ने पद्दति नै बस्न सकेन । यदि थापाले थोरै मात्र आत्मचिन्तन गरेका भए र आफ्ना कमीकमजोरीहरू केलाउने साहस गरेको भए भिन्न तरीकाले गतिशील हुनका लागि नयाँ क्षितिज देख्ने थिए । आकाशतिर फर्केर थुक्ने हुँदा छिटा जति आफ्नै मुखभरि परेको देखियो । गल्ती कमजारीहरू सच्याउने र सच्चिने कुराको हद म्याद नहुँदोरहेछ, त्यसैले थापाले अझै सच्चिनुपर्छ । देशलाई थापाको अनुभवको पनि खाँचो छ । एउटा अभिभावकीय भूमिकामा थापाको खाँचो भइरहने छ ।
राप्रपाको महाधिवेशनले मुलुकलाई एउटा सकारात्मक सन्देश पनि सञ्चार गराएको छ । अब सबै पार्टीका कमल थापाहरू अभिभावकीय भूमिकामा सुशोभित हुनुपर्छ र कार्यकारी भूमिकामा राजेन्द्र लिङ्देनहरू उदाउनुपर्छ । राजेन्द्र लिङ्देनहरूले आँट गर्नुपर्छ र कमल थापाहरूले आत्मग्लानी गर्नु हुँदैन । कमल थापाहरू रिसाउँछन् कि भनेर लिङ्देनहरू डराउने हो भने नेपाली समाजको रूपान्तरण नारामा मात्र वा भाषणमा मात्र सीमित हुने छ । राजनीतिमा असम्भव भन्ने केही हुन्न तर सिद्धान्त, गन्तव्य र समय सही हुन जरुरी छ ।