नेपाली काँग्रेसको १४औं महाधिवेशन र जनअपेक्षा

राजधानीमा जाडो बढे पनि नेपाली काँग्रेस भने आफ्नो १४औं महाधिवेशनको राप र तापमा भित्रभित्रै जलिरहेछ । कतिलाई आफ्नो पद जाला भन्ने भय छ भने कति नयाँ आशा र अपेक्षासहित चुनावी दौढमा छन् । महाधिवेशनको माहोल भने सभापतिबाहेकको पदमा मतदान सकिएर मत परिणामको प्रतीक्षामा कान ठाडो पारेर उभिएको छ भने सभापतिको पद भने दोस्रो चरणको चुनावको संघारमा छ । वर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका बीच कडा प्रतिस्पर्धा हुँदैछ ।

यद्यपि सभापति पदमा को विजय होला भन्ने सन्दर्भमा संशय खास्सै छैन किनभने अब फोहरी खेल आरम्भ हुने छ र नेपाली काँग्रेसले नयाँ नेतृत्व पाउने सम्भावना न्युन बन्ने छ । नयाँ आवरणमा आएको नेतृत्वको अबको पाँच वर्ष राजनीतिक दाउपेचमा नै बित्ने पक्का छ । न हिजोका दिनमा आशालाग्दो केही काम हुन सक्यो न भावी दिनहरूमा नै हुने भरोसा गर्न सकिन्छ । चुनाव अघि नेतृत्व परिवर्तनका लागि जे जति आवजहरू उठे पनि ती सबै महाधिवेशन चुनावी चरणमा प्रवेश गर्नु अगाडिसम्म मात्र सीमित रहे । व्यक्तिलाई देवत्वकरण गर्ने क्रम नेपाली काँग्रेस पार्टीमा पनि रोकिएन । यस परिणामले नेपाली काँग्रेसको पार्टी जीवनले भने ठूलो क्षति व्यहोर्नु पर्ने छ ।



महाधिवेशन नीतिमा भन्दा नेतृत्वमा केन्द्रित बन्यो । नेपाली काँग्रेसको अबको एजेण्डा के हुने छ ? नेपाली काँग्रेसको नयाँ नेतृत्वले अरू पार्टीले गर्न नसकेका वा नसक्ने कुन कुन मुद्दालाई देश र जनताका पक्षमा उठाउनु पर्ने छ ? अब कुनै व्यक्ति नेपाली काँग्रेसको झण्डामुनि किन बस्ने भनेर भसोसा दिने ? नयाँ पुस्तालाई नेपाली काँग्रेसले कसरी सम्बोधन गर्ने ? जस्ता हजारौं प्रश्नहरूको उत्तर खोजिनुपर्ने महाधिवेशनले त्यतातिर टाउको नै दुखाएन ।

नेतृत्व नै सर्वेसर्वा हुने पार्टी पद्दतिमा सभापति-अध्यक्षबाहेकका आकांक्षीहरूले नीति वा कार्ययोजनाको कुरा गर्नु खास्सै सान्दर्भिक थिएन होला तर पनि पदीय गरिमा जोगाउनकै लागि भए पनि उम्मेद्वारहरूले आ–आफ्ना कार्ययोजनाहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सक्नुपथ्र्यो तर १÷२ जनाले बाहेक कसैसँग त्यो हैसियत देखिएन । उनीहरूले मतदाताहरूलाई नीति र कार्ययोजनाले भन्दा अरू नै कुराले प्रभावमा पार्ने प्रयास गरे । अँध्यारो कोठामा बसेर केही सकुनी प्रवृत्तिले पार्टीलाई सखाप पार्ने चलखेल गरे र केही हदसम्म सफल पनि भए ।

सकुनीको कुटिल चालका कारण यस पटकको महाधिवेशनले केही होनाहार व्यक्तित्वहरूलाई नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिबाट बाहिर पार्न सक्ने प्रबल सम्भावना छ । यदि त्यसो भयो भने केही सकुनी व्यक्तिहरूको बार्गेनिङ पावर बढ्ने छ, उनीहरूले लाभका पदहरू पाउने छन् तर सिङ्गो नेपाली काँग्रेस पार्टीलाई भने अपुरणीय क्षति हुने छ र काँग्रेसका करोडौं शुभचिन्तकहरूलाई आत्मग्लानि बोध हुने छ । स्वयम् मतदाताहरूलाई पनि समयमा आफ्नो विवेकको सही प्रयोग गर्न नसकेकोमा पछुतो हुने छ तर न्याउरी मारी गरिने पछुतोले पार्टीलाई रसातलमा पुर्याइदिने छ ।

नेपाली काँग्रेस पार्टीको गौरवमय इतिहास बुझेका आम नेपाली जनताले भने नेपाली काँग्रेसको यस महाधिवेशनबाट ठूलो अपेक्षा गरेका थिए । आम जनताको धारणा अनुसार नै नेतृत्व परिवर्तन होला, पुरानो नेतृत्वले सगर्व नयाँलाई ठाउँ देला, नेपाली काँग्रेस पार्टीमा नयाँ जीवन तरङ्गित होला, हिजोको गौरवमय इतिहासलाई अझ उचाइमा पुर्याउने काम होला र एमाले, माओवादी, समाजवादी, राजावादी सबै पार्टीहरूभन्दा नेपाली काँग्रेस यसकारण विशिष्ट छ भन्ने प्रमाणित गर्ला भन्ने थियो तर स्वार्थ समूहले त्यसो हुन दिएन । अझ युवाहरूले आशा र भरोसा गरेका विश्वप्रकाश र गगन थापाहरूलाई समेत किनारा लगाउने प्रयास गरियो, यस कार्यको जति भत्सर्ना गरे पनि कम हुन्छ ।

विजयश्री प्राप्त गरी नेपाली काँग्रेसको केन्द्रीय समितिमा आउने सबै पदाधिकारीहरू र सदस्यहरू नेपाली काँग्रेसकै योद्धाहरू हुन्, यसमा दुईमत छैन तर त्यहाँ विश्वप्रकाश र गगन थापाहरू नभए नेपाली काँग्रेसप्रतिको युवा आकर्षण न्यून हुने मात्र होइन, स्पष्ट विचार र सिर्जनशीलताको अभावमा नेपाली काँग्रेस नुन नभएको तरकारी सावित हुने छ । उनीहरूको अनुपस्थितिलाई ‘देखिस् हाम्रो पावर’ भन्नेहरूका लागि आत्मरतिको विषय बन्ला तर नेपाली काँग्रेस प्लाष्टिकको फूल सावित हुने कुरामा पनि दुईमत छैन । मत गणना हुन र परिणाम् आउन बाँकी नै छ तर पनि सकुनीको चालले पाण्डवलाई वनबास पुर्याएको दृष्टान्त पुनः एकपल्ट स्मरण गराएको छ ।

सम्बन्धित समाचार