पूर्वराजासँग भएको सहमतिको विषयमा ओलीलाई चुनौती दिँदै प्रचण्डले निकाले यस्तो वक्तव्य (वक्तव्यसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच पाँच बुँदे सहमति नभएको बताएका छन् । आज (बिहीबार) एक प्रेस वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले ओलीलाई सो आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले राजासँग कुनै पनि सहमति नभएको दाबी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जनयुद्धकालमा सहमति र साँठगाँठ भएको बताएका थिए ।



ओलीले प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको बताएका थिए । उनले ज्ञानेन्द्रले आफ्नै हातमा शासन लिएर माघ १९ उधुम मच्चाएको आरोप समेत लगाएका थिए । त्यस्तै प्रचण्डले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम रहेको प्रेस वक्तव्यमा उल्लेख गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति
दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

यस्तो छ प्रेस विज्ञप्ति

 

यो पनि पढ्नुस :

प्रचण्ड र ज्ञानेन्द्रबीच साँठगाँठ भएर माघ १९ मा उधुम मच्चाइयो : ओली

सम्बन्धित समाचार