पुलिस, एपीएफ, प्रदेश २ र कर्णाली विजयी

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब , प्रदेश २ र कर्णाली प्रदेश विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्यो भने एपीएफले बागमती प्रदेशलाई ७ विकेटले, प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले र कर्णाली प्रदेशले प्रदेश नं. १ लाई ३१ रनले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा १३७ रनमा समेटिएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ रन बनाए भने सोमपाल कामीले ४२ रन जोडे । पुलिसका लागि करण केसीले ४ विकेट लिए भने गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान २-२ विकेट लिँदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



१३८ रनको लक्ष्य लिएर मैदान उत्रेको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ३५ रन बनाए भने रासिद खानले २८ रन जोडे । त्यस्तै दिलिप नाथ २५ रनमा अविजित रहँदा अनिल साहले २२ रन जोडे । आर्मीका लागि साहाव आलमले ३ विकेट लिए भने जितेन्द्र मुखियाको भागमा १ विकेट रह्यो । नेपाल पुलिस क्लबको यो लगातार दोस्रो जित हो । जितसँगै पुलिस २ खेलमा ४ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा २ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ ।

पुलिस

त्यसैगरी पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा एपीएफ बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले २९ रन बनाए भने नन्दन यादवले २४ रन जोडे । त्यस्तै सुवास खकुरेल २१ बनाई आउट भए भने आदिल खानले १९ रन बनाए ।एपीएफका लागि अविनास बोहराले ४ विकेट लिए भने कमल ऐरीको भागमा २ विकेट रह्यो । यस्तै शरद भेषवाकर र किशोर महतोले समान १-१ विकेट लिए ।

१२६ रनको लक्ष्य लिएर मैदान उत्रेको एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाउदै पूरा गर्यो । एपीएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेल्दै ५० रन बनाए भने प्रदिप ऐरी ३६ रनमा अविजित रहे । बागमतीका लागि प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान १-१ विकेट लिए । जितसँगै एपीएफले २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा २ अंक जोडेको बागमती दोस्रो स्थानमा रहेको छ ।

यसैगरी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ११६ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ४१ रन बनाए भने सन्दीप क्षेत्रीले २७ रन जोडे । प्रदेश २ का लागि आदिल आलमले २ विकेट लिए भने हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवको भागमा समान १-१ विकेट रह्यो ।

 

११७ रनको लक्ष्य लिएर मैदान उत्रेको प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाउदै पुरा गर्यो । प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले २६ रन बनाए भने सन्तोष कार्कीले २३ रन जोडे । त्यस्तै हरीकृष्ण झाले १७ रन बनाए । गण्डकीका लागि कृष्ण पौडेलले ३ विकेट लिए भने विशाल पौडेल र सुवास भण्डारीको भागमा समान २-२ विकेट रह्यो । यस्तै अर्को खेलमा कर्णाली प्रदेशले प्रदेश नं. १ लाई ३१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

 

 

 

 

सम्बन्धित समाचार