नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई २-१ ले पराजित गर्दै इन्टरले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टर मिलानलाई उपाधि दिलाएका हुन् । त्यसअघि खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा इन्टरका लागि लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ र दोस्रो हाफ १-१ मा सकिएको खेल त्यसपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १२१ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए । यस जितसँगै इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ ।