पुलिस र आर्मी विजयी

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । आज (शुक्रबार) भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्यो भने आर्मीले सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनायो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले ८२ रनको अर्धशतकीय पारी खेले भने दिपेन्द्र सिंह ऐरीले ६२ रन बनाए । कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले समान २-२ विकेट लिए ।



पुलिस

२४५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमात्र बनायो । कर्णालीका लागि प्रकाश जैसीले ६८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । पुलिसका लागि योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए भने पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाको भागमा समान १-१ विकेट रह्यो । कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुलिसको यो लगातार तेस्रो जित हो । यस जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको थियो । त्यसैगरी आज भएको अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहराले ३७ रन बनाए भने बसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन जोडे । आर्मीका लागि बिक्रम सोबले ६ विकेट लिए भने कुशल मल्ल, शाहब आलम र हरि चौहानको भागमा समान १-१ विकेट रह्यो ।

आर्मी

 

११६ रनको लक्ष्य लिएर मैदान उत्रेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि हरी चौहानले ३३ रन बनाए  भने विक्रम सोब २९ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि आदित्य महताले ४ विकेट लिए भने नारायण जोशी, हेमन्त धामी र शेर मल्लको भागमा समान १-१ विकेट रह्यो । प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो । आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो पनि पुलिससँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं. १ सँग समान १-१ अंक बाँडेको थियो ।

 

सम्बन्धित समाचार