
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको ‘हटस्पट’ बनेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि सिंहदरबार प्रवेशको सबै पास बन्द गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ। प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए। थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख पनि हुन्। उनलाई कोरोना भएपछि सीसीएमसिसीको बैठक नै बस्न सकेको छैन।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सचिवहरू होम आइसोलेसनमा छन्। सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ। प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ।
