नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयो भएको छ । आज(सोम्बर० भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो । जितसँगै पुलिस अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेले भने श्रवण यादवले १० रन बनाए । पुलिसका लागि आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले समान २-२ विकेट लिए भने करण केसी र सागर ढकालको भागमा समान १-१ विकेट रह्यो ।
१०२ रनको लक्ष्य लिएर मैदान उत्रेको पुलिसले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ४४ रन बनाए भने अनिल साहले २६ र दीपेन्द्रसिंह ऐरीले २० रन जोडे । प्रदेश १ का लागि मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले समान १-१ विकेट लिए ।
जितसँगै पुलिस ४ खेलमा ८ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भने त्रिभुवन आर्मी क्लब ४ खेलमा ६ अङ्क जोड्दै समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं १ प्रतियोगिताबाट बाहिरिएका छन् ।