नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले यो उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खरिदको प्रस्ताव गरेकोमा फाइजर कम्पनीले सम्झौताका लागि दुई महिनाको समय मागेको छ । ५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ । १२ वर्षभन्दा माथिका सबैलाई भने फाइजरले ०.३ एमएलका दरले दुई डोज तोकेको छ ।
नेपालमा ११ वर्षमुनिका बालबालिकामा पनि संक्रमण बढ्न थालेको छ । सोमबार मात्रै देशभर ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएकामा ११ वर्षमुनिका ८७ जना छन् । आइतबार झन् बढी ९१ जना संक्रमित ११ वर्षमुनिका थिए ।