उपाधिको लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपधिको लागि नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । आज (मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनायो । पुलिसका लागि पवन सर्राफले ५९ रनको अर्धशतकीय पारी खेले भने दिलिप नाथले ३१ र अनिल साहले २५ रन बनाए । बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान २-२ विकेट लिए भने प्रतिस जिसीको भागमा १ विकेट रह्यो ।



उपाधिको लागि पुलिस र एपीएफ भिड्ने

१५६ रनको लक्ष्य लिएर मैदान उत्रेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि आदिल खानले २७ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे । त्यस्तै रामनरेश गिरी २२ रनमा अविजित रहे । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए भने सागर ढकालको भागमा २ विकेट रह्यो । त्यस्तै आरिफ शेखले १ विकेट लिए । जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनायो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले भने लोकेश बम ६६ र प्रदिप ऐरी ५७ रनमा अविजित रहे । आर्मीका लागि जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान १-१ विकेट लिए ।

उपाधिको लागि पुलिस र एपीएफ भिड्ने

२३१ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रनमात्रै बनायो । आर्मीका लागि राजेश पुलामीले ३८ रन बनाए भने भिम सार्कीले ३५ रन जोडे । त्यस्तै सुमित श्रेष्ठ २४ बनाई आउट भए भने हरी चौहानले २२ रन जोडे । एपीएफका लागि शरद भेषवाकरले ३ विकेट लिए भने अविनाश बोहरा र भुवन कार्कीको भागमा समान २-२ विकेट रह्यो । यस्तै किशोर महतो र दिपक बोहराले समान १-१ विकेट हात पारे । अब भोलि (बुधबार) हुने फाइनलमा एपीएफले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

 

सम्बन्धित समाचार