आइतबारदेखि वेपत्ता यी अभिनेत्रीको शव फेला पर्यो

आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

अभिनेत्री शिमुको गर्धनमा चोट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहिति ६ जनालाई पक्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको जानकारी दिएको छ ।

उनका पतिले घरायसी विवादका कारण पत्नीको हत्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो । सोमबार बिहान उनको शव दुई टुक्रा भएको अवस्थामा फेला परेको हो ।

सम्बन्धित समाचार