नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
नेपालमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको भिड छ।
यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’ पनि दिन सुरु गरिसकेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेपछि र बुस्टर डोज दिइरहँदा सर्वसाधारणहरु खोप लगाउन तम्सिएका छन्। खोप अभियान संचालन भइरहँदा मौसमी परिवर्तनका कारण रुघाखोकी, घाँटी दुख्ने, ज्वरोका बिरामी पनि बढिरहेका छन्। र, यस्तो लक्षण देखिएकाहरुले परीक्षण पनि कम संख्यामा मात्रै गरिरहेका छन्। धेरैले विरामी अवस्थामा पनि खोप र बुस्टर डोजसमेत लगाइरहेका छन्।
ओमोक्रन भेरियन्ट र रुखाघोकीका लक्षण मिल्दाजुल्दा हुने भएकाले निको भएपछि मात्रै खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्र बताउँछिन्। उनले लक्षण देखिएका बिरामीमा कोरोना संक्रमणसमेत हुन सक्ने भन्दै त्यस्तो अवस्थामा पहिला परीक्षण गर्न सुझावसमेत दिइन्।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा शेरबहादुर पुन पनि अस्वस्थ भएको अवस्थामा खोप लगाउन नहुने बताउँछन्।