नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
इंग्लिस प्रिमियर लिगमा टोटेनहम र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । बुधबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ३-२ ले पराजित गर्यो भने युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको हो ।
टोटेनमहलाई जित दिलाउन स्टेभन वर्गविनले २ तथा ह्यारी केनले १ गोल गरे भने लेस्टरका लागि प्याटसन डाका र म्याडिसनले समान १-१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २४ औं मिनेटमा प्याटसन डाकाले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरमा सकिएको खेलमा दोस्रो हाफको ७६ औं मिनेटमा लेस्टरका म्याडिसनले गोल गर्दै लेस्टरलाई २-१ को अग्रता दिलाए । तर, दोस्रो हाफको इन्जुरी समयमा स्टेभन वर्गविनले लगातार दुई गोल गर्दै टोटेनहमलाई ३-२ को जित दिलाए । जितसँगै टोटेनहम १९ खेलबाट ३६ अंक जोड्दै लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलबाट २५ अंक जोडेको लेस्टर १० औं स्थानमा रहेको छ ।
त्यसैगरी इंग्लिस प्रिमियर लिग अन्तर्गत अर्को खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको छ । युनाइटेडलाई जित दिलाउन एन्थनी इलांगा, मासोन ग्रिनउड र मार्कस रासफोर्डले समान १-१ गोल गरे भने ब्रेन्टफोर्डका लागि इभान टोनीले सान्त्वना गोल गरेका थिए । पहिलो हाफमा गोलरहित बारेमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा इलांगाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६२ औ मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । यस्तै खेलको ७७ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा ब्रेन्टफोर्ड टोनीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । त्यसपछि थप समयमा दुबै टोलीबाट गोल हुन सकेमा र खेल युनाइटेडले ३-१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै युनाइटेड २१ खेलबाट ३५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ भने २२ खेलमा २३ अंक जोडेको ब्रेन्टफोर्ड १४ औं स्थानमा रहेको छ ।