
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले एक हिंसात्मक अभिव्यक्ति दिएकी छिन् । उनले आज (बिहीबार) जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै हिंसात्मक अभिव्यक्ति दिएकी हुन् ।
मधेशमा बलिदानी दिवसको अवसरमा आज रौतहटको गौरमा बोल्दै यादवले गौर नरसंहार दोहोरिन सक्ने चेतावनी दिएकी छिन् । गौर पुग्ने क्रममा उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । उनले राउतलाई लक्षित गर्दै भनिन्, ‘‘इतिहासमा राइस मिल अझै जिवित छ । यो गौरमा चिर्पट देखाउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जो गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
त्यस्तै यादवले रावतलाई हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत चुनौती दिएकी छन् । गत २०६३ चैत्र ७ गते गौरको राइसमिलमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमको कार्यक्रममा हिंसात्मक घटना भएको थियो । जसमा फोरमका कार्यकर्ताले तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या गरेका थिए ।
