
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको बचाउ गरेका छन् । आज (शुक्रबार) जनकपुरमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्रीले मन्त्री यादवको बचाउ गरेका हुन् ।
राज्यमन्त्री यादवले मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने धम्की नदिएको दाबी गरे । मधेशमा बलिदानी दिवसको अवसरमा मन्त्री यादव पुग्नुपूर्व जनमतका कार्यकर्ताले साङ्घातिक हमलाको प्रयास गरेको आरोपसमेत राज्यमन्त्री यादवले लगाए । राज्यमन्त्री यादवले भने, ‘सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो । बाटो छेकेर हमला गर्न खोज्ने १५-२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’
मन्त्री यादवको हिंसात्मक अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । त्यस्तै राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोपसमेत लगाए । मन्त्री यादवले गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति नदिएको दाबी गर्दै राज्यमन्त्री यादवले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता नै छैन, मन्त्री रेणु यादवज्यूले गौर घटना दोहोर्याउने कुरा गर्नु भएको होइन ।’
भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिँदै अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् । त्यसैगरी मन्त्री यादवले रावतलाई हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत चुनौती दिएकी थिइन् ।
यो पनि पढ्नुस :
