सर्वदलीय बैठकअघि बाबुराम भट्टराईले एमालेलाई लगाए गम्भीर आरोप

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहान ९ बजेपछि सर्वदलीय बैठक बस्दै छ। यसअघि गत पुस ४ गतेको सर्वदलीय बैठक पनि बहिष्कार गरेको एमाले आजको बैठकमा पनि सहभागी हुने निश्चित छैन।

यहीबीच सत्ता गठबन्धनमा आबद्ध दल जसपाका एक जना शीर्ष नेता डा. भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेविरुद्ध तीखो टिप्पणी गरेका हुन्। उनले नाम नलिईकन संसद् बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्’ भनेर एमालेविरुद्ध आक्रोश पोखेका हुन्। र, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अप्रत्यक्ष रूपमा हिटलरको संज्ञा दिएका छन्।

‘बिनाकारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्’, भट्टराईले लेखेका छन्, ‘नबिर्सौं हिटलरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो।’

सम्बन्धित समाचार