
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा तीन तहका निर्वाचनबारे छलफल हुने प्रधामन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान गरेका हुन्।
सत्ता गठबन्धन निर्वाचन आयोगले प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। शुक्रबार साँझ भएको छलफलमा गठबन्धनका नेताहरूले तीनै तहको चुनाव एकैपटक मंसिरमा गर्ने र यस विषयमा निर्वाचन आयोग तथा कानुनविद्हरुसँग परामर्श गरेर अघि बढ्ने निर्णय गरेका छन्।
बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले शनिबारको सर्वदलीय बैठक सहभागी नहुने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले अहिले निर्वाचनका लागि सर्वदलीय बैठकमा छलफल गरिरहनुको औचित्य नहुने प्रतिक्रिया दिए। आवधिक निर्वाचन, संवैधानिक र कानुनी बाध्यता भए पनि सरकारले यसलाई विभिन्न बहानामा अल्मल्याउन खोजेको ज्ञवालीको आरोप छ।
