
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने टिप्पणी गरेका छन्।
शर्माले सामाजिक सञ्जालमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा र पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्ने विकल्प रहेको उल्लेख गरेका छन्।
‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारस ३ विकल्प!’ उनले लेखेका छन्‚ ‘(१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना (२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा‚ अथवा (३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।’ महामन्त्री शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनैपर्ने बताएका छन्।
