
कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार अपरान्ह स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कानुनविद्हरुले संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरेर स्थानीय तहको निर्वाचनमा जान सुझाव दिएका हुन ।
कानुनविद्हरुले स्थानीय तह निर्वाचन ऐन र संविधान बाझिएकाले बाँझिएका ती कानुनहरु संशोधन गरेर अघि बढन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा कानुनविद्हरुले सत्तारुढ पाँच दललाई संविधानसँग बाझिएका कुनै पनि कानुन अमान्य हुने संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराएका थिए । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतको सहभागिता रहेको थियो ।
