नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ३-२ ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा लाइपजिगका लागि आन्द्रे सिल्भाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको ४४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफ २-१ मा सकिएको खेलमा खेलको ५३ औं मिनेटमा लाइपजिगका क्रिस्टोफर एनकुन्कुले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । तर, खेलको ५८ औं मिनेटमा बायर्नले उपहार गोल पायो । लाइपजिगका जोस्कोले आत्मघाती गोल गरेपछि बायर्नले ३-२ को कठिन जित हात पार्यो । जितसँगै बायर्न २१ खेलमा ५२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ३१ अंक जोडेको लाइपजिग सातौं स्थानमा रहेको छ ।