नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक।

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो । नेपाल आज यूएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । उता यूएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।
युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ । नेपाल र यूएईबीचका अन्तिमपटक सन् २०१९ मा प्रतिस्पर्धा भएको थियो । उक्त एसिया कप खेलमा नेपालले यूएईलाई १६० रनले हराएको थियो । नेपाल आज पनि सोही इतिहास दोहोर्याउने लक्ष्यमा छ ।(रासस)
