एनपिएल : लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो तेस्रो जित हो ।

उता लुम्बिनीले पहिलो हारको सामना गरेको छ । शनिबारको खेलमा काठमाण्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । उसका लागि सन्दीप जोराले ४४, अभिषेश गौतमले १६, निरोशन डिकवेलाले १४, शेर मल्लले १२ र रुबेन ट्रम्पेलम्यानले ११ रन बनाए ।

काठमाण्डुका लागि बलिङतर्फ जहान्दाद खानले ४, कप्तान करण केसीले २ तथा साहब आलम, सहान आराच्चिगे, सन्तोष यादव र राशिद खानले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो ।

उसका लागि ओपनर डेभिड वार्नरले अर्धशतकीय पारी खेले । उनले आज ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रनको पारी खेलेका हुन् ।

जारी एनपिएलमा वार्नरको यो पहिलो अर्धशतक हो । यस्तै, लुम्बिनीविरुद्ध साहिल पटेलले ३८ र सहान आराच्चिगेले अविजित ३४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन बनाउन सकेनन् ।

लुम्बिनी लायन्सका लागि बलिङतर्फ शेर मल्ल, अभिशेष गौतम र रुबेन ट्रम्पेलमानले २–२ विकेट लिए । शनिबारको जितपछि काठमाण्डु अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेल खेल्दा तीनमा जित र एक खेलमा पराजय व्यहोरेको छ ।

हारका बाबजुद शीर्ष स्थानमा कायमै रहेको लुम्बिनीले पाँच खेलमा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा अङ्क बाँडेको छ ।(रासस)

सम्बन्धित समाचार