नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
कृपा पौडेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ पहिलो सिजनको विजेता भएकी छन् । आज (आइतबार) बिहान २ बजे भएको ग्राण्ड फिनालेबाट झापा विर्तामोडकी पौडेललाई विजेता घोषणा गरिएको हो ।
उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्। त्यस्तै झापा मेचीनगरकी रोशा फुयाँल फस्ट रनरअप घोषित हुँदा भारत सिलगुडीका आदित्य विश्वकर्मा सेकेन्ड रनरअप भए । प्रतियोगिताको ग्राण्ड फिनालेमा कृपासहित, रोष फुयाँल, आदित्य विश्वकर्मा, अभिग्य घिमिरे र अरुण सुनार टप फाइभमा परेका थिए ।
कार्यक्रम करिब चार घन्टाभन्दा बढी चलेको थियो । विजेता बनेसँगै कृपाले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । दर्शकहरुको भोटिङको आधारमा उनी विजेता घोषित भएकी हुन् । रोशाले ट्रफीसहित तीन लाख र आदित्यले दुई लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै टप टप फाइभमा परेका प्रतियोगीलाई आयोजकले गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका सातै प्रदेशका साथै वल्र्ड टुर र कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाउने जनाएको छ ।
कार्यक्रम ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको थियो भने निर्णायकहरुमा गायक तथा संगीतकार न्ह्यू बज्राचार्य, गायक कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए । त्यस्तै कार्यक्रममा १५ जना गायक–गायिका ग्राण्ड जुरी रहेका थिए ।