नेपालले खेल्ने चार देशीय टी–ट्वान्टी सिरिज प्रत्यक्ष प्रशारण हुने

चार देशीय श्रृंखलाको प्रसारण अधिकार एडप्याडलाई

नेपाल, आयरल्याण्ड, ओमान र युएईबीच यही फेब्रूअरी ११ देखि १४ सम्म ओमानमा हुन गइरहेको चार देशीय टी-ट्वान्टी आई सिरिजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको छ । एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आईटिडब्लु नामक कम्पनीसँग नेपालको लागि प्रसारण अधिकार खरिद गरेको हो ।

सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एच डी ले गर्ने जनाएको छ । त्यस्तै युट्युबमा ओएसआर स्पोर्टसले र दराज एप मार्फत हुनेछ । सो प्रतियोगिताको नेपाल प्रसारणमा प्रमुख प्रायोजन शंकर ग्रुप अन्तर्गतको ‘टिभिएस अपाचे’ले गरेको छ ।



छनोटअघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । उक्त सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।पहिलो खेलमा नेपालले ओमानसँग फेब्रुअरी ११ मा, दोसो खेल युएईसँग फेब्रुअरी १२ मा र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।

चारदेशीय टी–ट्वान्टी सिरिज

आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार