नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।
फिफा क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरक्त समयमा २-१ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा पाल्मिरसका राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको ११७ औं मिनेटमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए । त्यस्तै अतिरिक्त समयको इन्जुरी समयमा ग्रासियाले रातो कार्ड पाएपछि ब्राजिलियन क्लब १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।