नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज (सोमबार)आयरल्यन्डसँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा नेपाल, ओमान, युएई र आयरल्याण्ड सहभागी छन् ।
अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र आयरल्याण्डबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।
आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरेट क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।
त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।