नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपालआयरल्याण्डसँग १६ रनले पराजित हुन पुग्यो ।

अल अमेरेट क्रिकेट मैदान ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १२७ रनमा समेटियो । आयरल्याण्डका लागि जर्ज डोकरेलले २८ रन बनाए भने कर्टिस क्याम्फरले २० रन जोडे । त्यस्तै कप्तान एन्डी विलवार्नीले १९ रन बनाई आउट भए भने लोर्कन टकरले १५ रन जोडे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने अविनाश बोहराको भागमा २ विकेट रह्यो । यस्तै सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाको नाममा समान १-१ विकेट रह्यो ।



१२८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आशिफ शेखले २३ जोडे । यस्तै कुशल भुर्तेल १५ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । आयरल्याण्डका लागि सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान २-२ विकेट लिए ।

पहिलो खेलमा ओमानलाई ६ विकेट पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । हारसँगै नेपालले ३ खेलमा २ अंक जोड्दै पुछारमा रह्यो भने आयरल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोटअघि नेपालले चारदेशीय सिरिज खेलेको हो । यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको थियो ।

आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले पहिलो खेल ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ भने दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरेट क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । यसैगरी नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार