नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।
टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १२ औं स्थानमा रहेको थियो ।
त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेको छ भने न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् । एसोसिएट राष्ट्रमा मा यूएई सबैभन्दा अघि छ । यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ ।
यस्तै एकदिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमै यथावत रहेको छ । यसअघि पनि नेपाल १६ औं स्थानमै रहेको थियो । ओमानमा भएको चारदेशीय टी-२० खेलमा कमजोर प्रदर्शन गरेको कारण नेपालको वरीयता खस्किएको हो । उक्त प्रतियोगितामा नेपालले ३ खेलमध्ये एक खेल मात्र जितेको थियो । ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल युएईसँग २५ रनले र टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको थियो ।