नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल र युएई भिड्दै छन् । आज (मंगलबार) टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाल युएईविरुद्ध मैदान उत्रन लागेको हो ।
ओमानको अल अमेरातमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । टी-ट्वान्टी विश्वकपमा छनोट हुन नेपाललाई यो खेल जित्ने पर्ने हुनेछ । आज दुवै टोली एक अर्कालाई हराउदै फाइनल पुग्न चाहन्छ । यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसपछि नेपाल ले विश्वकप खेल्न सकेको छैन । नेपाल समूह ‘बी’ को विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्दै अन्तिम चारमा पुगेको हो ।
नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले हराएको थियो । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् ।फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।