एउटा विकास परियोजनाका कारण विभाजित मुलुक

एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धनका दलहरूबीच धु्रवीकरण हुने लगभग निश्चित देखिएपछि नेपाली काँग्रेसभित्र एक खालको तरङ्ग पैदा भएको छ । दुई समूहमा देखिएको नेपाली काँग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्यको हात बढाएर जानुपर्ने सुझाव दिएको छ । त्यसो त सरकारमा पनि बस्ने अनि सरकारकै विपक्षमा उभिने द्वैध चरित्र देखाउने दलहरूबाट समधान निस्कने कुरामा काँग्रेस ढुक्क छैन ।

एमसीसी सम्झौताले भूराजनीतिक द्वन्द्व निम्त्याउने खतरा बढेको भन्दै काँग्रेसले एमालेसँग मिलेर वर्तमान समस्याको समधान टार्न सकिनेमा प्रधानमन्त्री देउवा सहमत देखिएको काँग्रेसका नेताहरू बताउन थालेका छन् । यही मेसोमा देउवाले आफ्नो विश्वास पात्रहरूलाई प्रयोग गरेर विभिन्न माध्यमबाट एमालेका नेताहरूसँग चरण चरणमा कुराकानी चलाइरहेका छन् ।



देउवा आफैं पनि एमाले अध्यक्ष ओलीसँग वार्ता गरिरहेका छन् । ओली भने यही तरल अवस्थामा गठबन्धन फुटाएर ‘देखिस्’ भन्न सन्छिन कि भन्ने दाउमा देखिन्छन् । उनले देउवासँग त स्पष्ट भनेका पनि छन् ‘गठबन्धन छाड्नुस्, तपाईसँग सहकार्य हुन सक्छ । दुई डुङ्गामा खुट्टा राखेर खोला तर्न खोज्दा दुर्घटनामा परिन्छ । एमसीसीका विषमा हाम्रो पार्टी स्पष्ट छ ।’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भनेका छन् ‘सरकारको प्रस्तावको विरोध गरेर सत्तामा बसिरहन सुहाउँदैन ।’ यस अभिव्यक्तिले पनि अब गठबन्धन अघि बढ्न नसक्ने सङ्केत गरेको छ । त्यतिमात्र हैन, उनले सभामुख र समाजवादीका १४ सांसदलाई काँग्रेसले बचाइरहन नसक्ने पनि भनेका छन् । सम्भवतः यो काँग्रेसको मूल धारणा पनि हुन सक्छ ।

मुलुकका लागि एमसीसी ठीक कि बेठीक भन्ने विषयले देश नै विभाजित छ । तर भनिन्छ– गठबन्धन निर्माण गर्दैगर्दा हिजोका दिनमा एमसीसी सम्झौतालाई मिलाएरै अनुमोदन गर्ने भनी प्रचण्ड र माधव नेपालले देउवालाई वचन दिएका थिए । प्रचण्डले एमसीसीलाई लेखेको पत्र त सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । यसले पनि प्रचण्ड एमसीसीका पक्षधर नै थिए भन्न सकिन्छ तर उनले आफ्नै पार्टीका नेताहरूलाई विश्वासमा लिन नसक्ता पछि बोली फेर्न बाध्य भए । अतः उनको पछिल्लो निर्णयबाट नेपाली काँग्रेस स्तब्ध मात्रै बनेको छैन, प्रचण्डको विश्वासमा अगाडि बढ्दा घात भएको महसुस पनि गरेको छ । ओलीसँगको देउवाको पछिल्लो हिमचिम त्यसैको परिणाम् हो भनेर बुझ्न सकिन्छ ।

एउटा कुराचाहिँ प्रष्ट हो कि केवल एउटा विकास परियोजना (एमसीसी) ले नेपालको भूराजनीतिक अवस्थालाई नराम्ररी खल्बल्याइदिएको छ । नेपालका दलहरूको राजनीतिक धरातल कति कमजोर रहेछ भन्ने कुरालाई पर्दाफास गरिदिएको छ । र, नेपाली नेताहरूले भन्ने गरेको आदर्शका कुराहरू हात्तीका देखाउने दाँतमात्र हुन् भन्ने कुरालाई वर्तमान राजनीतिक तरलताले पुनः प्रमाणित गर्दै लगेको छ ।

देशलाई भन्दा पार्टी वा पार्टीभित्रको पनि अमुक व्यक्तिलाई केन्द्रमा राखेर निर्णय गर्ने परिपाटीले देश दुर्घटनाको शिकार बन्दैछ । हिजो ओलीको निरङ्कुशताबाट देश बचाऔं भनेर नेतृत्व गरेका र ओलीका विरूद्धमा आरोपपत्र पेश गरेका प्रचण्ड स्वयम् अहिले ओलीको शरणमा पुगेर आफ्नो अस्तित्व बचाइदिन हार–गुहार गर्नुलाई नेपाली जनताले कसरी बुझ्ने ? पाँचमहिना पनि नटिक्ने गठबन्धन किन निर्माण गरे त ? अन्त्यमा सबै ओलीकै शरणमा पुग्नुपर्ने र उनकै निर्णयले निर्णायक रूप लिने स्थिति कसरी आयो ?

यसले वास्तवमा ओली त्यति खराब थिएनन् जति उनलाई बनाउने कोसिस गरियो भन्ने कुरालाई सङ्केत मात्र गर्दैन आफ्नो स्वार्थसिद्धिका लागि कुनै नेताले कुनै पनि बेला जे निर्णय पनि गर्न सक्छन् भन्ने देखाउँछ । देउवा र प्रचण्डको ओलीसँगको पछिल्लो शरणागतिले पनि यस कुरालाई पुष्टि गरेको छ । र, व्यक्तिको अहम् बचाउन देश दलदलमा फँस्तै गरेको कुरालाई सबैले स्वीकानुपर्ने भएको छ ।

सम्बन्धित समाचार