नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ फागुन ।
डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो । सुदुरपश्चिमका लागि विन्दु रावलले ३७ रनको बनाईन् भने डोली भट्टले ३६ रन जोडिन् । त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहँदा रेवती धामीले १० रन जोडिन् । एपीएफका लागि सुस्मा श्रेष्ठ २ विकेट हात लिईन् ।
११४ रनको लक्ष्य लिएर मैदान उत्रेको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको लागि ज्योती पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् भने इन्दु वर्मा २९ रनमा अविजित रहिन् । यस्तै कप्तान सिता राना मगर १९ रनमा आउट भईन् ।सुदुरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले समान १-१ विकेट लिए । उपाधिसँगै एपीएफले २ लाख प्राप्त गरेको छ भने सुदुरपश्चिम १ लाखमा चित्त बुझाउन वाध्य भयो । गत संस्करणमा पनि एपीएफले सुदुरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
यसैगरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट ब्याटर तथा प्लेयर अफ द फाइनल एपीएफकी ज्योती पाण्डे घोषित हुँदै क्रमश: २५ हजार, १५ हजार र ३ हजार प्राप्त गरिन् भने सुदुरपश्चिमकी इश्वरी विष्ट उत्कृष्ट बलर बन्दै नगद १५ हजार प्राप्त गरिन् ।