नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।
आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेलले सुधार गरेका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा कुशलले ८ स्थान माथि उक्लेका हुन् ।
नयाँ वरीयतामा कुशल ३१ औ स्थानमा रहेका छन् । यसअघि उनी ३९ औँ स्थानमा रहेका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी भने १ स्थान तल झर्दै ५० औं स्थानमा रहेका छन् । दीपेन्द्र यसअघि ४९ औं स्थानमा रहेका थिए ।
यसैगरी टी–२० को बलिङतर्फको वरीयता सन्दीप लामिछाने पनि सुधार गरेका छन् । उनी पनि ७ स्थान माथि उक्लदै ३६ औँ स्थानमा आइपुगेका छन् । सन्दीप यसअघि ४३ औँ स्थानमा रहेका थिए । यता, अविनाश बोहरा भने ८६ औँ स्थानमा यथावत् रहेका छन् ।