नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
रियलको घरेलु मैदानमा भएको एकतर्फी खेलमा अग्रता भने रियल सोसिडाडले लिएको थियो । खेलको १० औं मिनेटमा रियल सोसिडाडका मिकेल ओयार्जाबलले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औं मिनेटमा रियल मड्रिडका एडुवार्डो कामाभिन्गाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको ४३ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियल मड्रिडलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफमा रियल मड्रिडले थप २ गोल गर्यो । खेलको ७६ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दा रियल मड्रिड ३-१ ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई ४-१ को फराकिलो जित दिलाए । जितसँगै रियल २७ खेलमा ६३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने २७ खेलमा ४४ अंक जोडेको रियल सोसिडाड छैटौं स्थानमा रहेको छ ।