नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।

तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आज (आइतबार) लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको हो ।दमौली बजारमा अवस्थित भूपाल हार्डवेयरबाट आगलागी सुरु भएको थियो ।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट चार घरमा क्षति पुगेको छ । आगो नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिएको थियो । साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो ।
आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौलीमा पुगेका थिए । हेलिकप्टरको प्रयोग विना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताए । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो ।
यद्यपि आगलागीको यकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । “हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ”, खड्काले भने । आगो नियन्त्रणको लागि जमिनबाट पनि ७ वटा दमकल र पानी ट्यांक प्रयोग गरेको प्रसाशनले जनाएको छ ।
यो पनि पढ्नुस :
