नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको नभई युग सुहाउँदो हुनुपर्नेमा जोड दिए ।
देश सुरुङ मार्ग, लिफ्टिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै उनले इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे । ‘जाँदा पिच भएको बाटो फर्किँदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुपर्यो ।’ पूर्वाधार निर्माणमा इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने मन्त्री पौडेलले बताए ।
विभिन्न चरणमा भएका सम्झौता कार्यान्वयनको चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनको भनाइ छ । कार्ययोजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने उल्लेख उनले गरे । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भुल्न नहुनेमा उनले जोड दिए ।