युएईद्वारा नेपाल सामू २०३ रनको लक्ष्य प्रस्तुत

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा युएईले नेपाललाई जितको लागि २०३ रनको लक्ष्य दिएको छ । युएईको दुबई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनायो ।

उसका लागि रोहण मुस्तफाले ६० रनको अर्धशतकीय पारी खेले भने मुहम्मद वसिमले ३३ रन बनाए । त्यस्तै चिराग सुरी २६ रन बनाई आउट भए भने भ्रित्य अरभिन्दले २४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करण केसीको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १-१ विकेट लिए ।



नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै युएई पनि नेपालमाथि दोस्रो जित निकाल्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो ।

यता घरेलु टोलीले भने पहिलो खेलमा पीएनजीलाई ७ विकेटले, दोस्रो खेलमा नेपाललाई ४८ रनले र तेस्रो खेलमा पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै आज तेस्रो खेल खेल्न लागेको नेपालले सिरिजको अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ ।

विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल १० खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १७ खेलमा २० अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १ जित निकालेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

 

 

सम्बन्धित समाचार