नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ वैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । सर्लाही, हरिपुर नगरपालिका-१ स्थित मुत्तेश्वर सामुदायिक वन र डाँफे सामुदायिक वनको बीचमा रहेको नहरमा रौतहट गुजरा नगरपालिका-५ बस्ने ३१ वर्षीय बिष्णु सिंह घिसिङको शव शनिबार फेला परेको हो ।
घाँटीमा धारिलो हतियार प्रयोग गरिएको जस्तो देखिएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तिया र मधेश प्रदेश प्रहरी कार्यालय केनाई शाखा लालगढ धनुषा र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै इलाम, इलाम नगरपालिका-८ बस्ने ३० वर्षीया बिनिता काफ्ले घर नजिकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबारदेखि बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा बारीको खाल्डोमा शव फेला परेको हो । यता सुर्खेत, गुर्भाकोट नगरपालिका-११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित भ्यु नेपाल होटलमा धादिङ धुनिबेशी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि उक्त होटलमा बसेका उनी ट्वाईलेटभित्र मृत फेला परेका हुन् । त्यसैगरी भोजपुर, भोजपुर नगरपालिका-२ हेलौछा मगरटोल बस्ने ४८ वर्षीया कमला खवास आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यता सुनसरी, धरान उपमहानगरपालिका-५ निसानेडाँडा चिसापानी खोला छेउ देबीगाउँ बस्ने ९० वर्षीय सङ्ख बहादुर तामाङ सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१ देबिटारमा तेमाल गाउँपालिका-१ सर्सियुखर्क बस्ने ३५ वर्षीय अनिल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिरहा, मिर्चैया नगरपालिका-३ राघोपुर बस्ने ३५ वर्षीया गीता देवी यादव आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१ मजित टोलस्थित तिनाउ खोलाको किनारमा सोही उपमहानगरपालिका-११ मजुवा बस्ने ३० वर्षीया निशा पुन शनिबार मृत अवस्थामा फेला परेकी छन् । यता मुस्ताङ, घरपझोङ गाउँपालिका-३ स्याङस्थित कालीगण्डकी नदीको किनारमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

