नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । सोमबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । राजस्थानका लागि कप्तान सन्जु सामसनले ५४ रनको अर्धशतकीय पारी खेले भने शिम्रन हिटमायर २७ रनमा अविजित रहे । त्यस्तै जस बट्लर २२ रन बनाई आउट भए भने रियान परागले १९ रन जोडे । कोलकाताका लागि टिम साउथीले २ विकेट लिए भने उमेश यादव, अनुकुल रोय र शिवम माभीको भागमा समान १-१ विकेट रह्यो ।
१५३ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको लागि नितिश रानाले अविजित रहँदै ४८ रन बनाए भने रिन्कु सिंह ४२ रन नटआउट रहे । यस्तै कप्तान श्रेयस एयर ३४ रन बनाई आउट भए भने बाबा इन्द्रजितले १५ रन जोडे । राजस्थानका लागि प्रशिद्द कृष्ण, ट्रेन्ट बोल्ट र कुलदिप सेनले समान १-१ विकेट लिए ।
जितसँगै कोलकाता १० खेलमा ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने १० खेलमा १२ अंक जोडेको राजस्थान तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज गुजरात टाइटन्स र पन्जाब किङ्ग्स भिड्दै छन् ।