नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय बिबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता सप्तरी, सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका-६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै स्याङ्जा, आँधीखोला गाउँपालिका-२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका-५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका-२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, अन्नपूर्ण गाउँपालिका-२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका-२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ओम प्रकाश र सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका-२३ हर्पनबाट अन्नपूर्ण-२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

