नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।
दोस्रो एकदिवसीय खेलमा नेपाल विजयी भएको छ । आज (शनिबार) भएको खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको हो ।
यस अघि काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । जिम्बावे ‘ए’ को लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए भने ब्राड इभान्सले २० र चेफास झुवाओले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ र सागर ढकाल को भागमा१ विकेट रह्यो ।
८८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि सुनिल धमलाले ३८ रन बनाए भने आशिफ शेख ३४ र बिनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावे ‘ए’को लागि ब्र्यान्डन माभुटाले १ विकेट लिए । आज जिम्बावेविरुद्ध जित निकाल्दै नेपालले तीन म्याच सिरिजमा १-१ को बराबरी गरेको छ ।
हिजो भएको पहिलो एकदिवसीय खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।