नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


इङ्ल्यान्डलाई पराजित गर्दै भारत आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गाशालामा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो । यससँगै अब फाइनलमा भारतलेको सामना गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित गर्दै न्युजिल्यान्ड विश्वकपको फाइनलमा पुगेको थियो ।
बिहीबार जितका लागि २५४ रनको लक्ष्य पछाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २४६ रनमात्र बनाउन सक्यो । इङ्ग्ल्याण्डका लागि जेकब बेथेलले सर्वाधिक १०५ रनको योगदान दिए । उनले ४८ बलमा आठ चौका र सात छक्कासहित १०५ रनको शानदार शतक बनाए । त्यस्तै, विल ज्याक्सले ३५ रन बनाए भने जोस् बटलरले २५ रन जोडे ।
बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने जसप्रित बुमराह, अर्शदीप सिंह र वरुण चक्रवर्तीले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २५३ रनको योगफल बनाएको थियो ।
भारतका लागि सन्जु स्यामसनले सर्वाधिक ८९ रनको योगदान दिए । उनले ४२ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै ८९ रनको योगदान दिएका हुन् । त्यस्तै, शिवम दुबेले ४३ रन बनाए, इशान किशनले ३९ रन जोडे भने हार्दिक पाण्ड्याले २७ रन बनाए ।
यता, इङ्ल्यान्डका लागि विल ज्याक्स र आदिल राशिदले समान दुई–दुई विकेट लिए भने जोफ्रा आर्चरले एक विकेट लिए । यस हारसँगै इङ्ग्ल्याण्डको यात्रा सेमिफाइनलमै समाप्त भएको छ । उपाधिको लागि आइतबार भारत र न्युजिल्यान्ड भिड्ने छन् ।
