मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रुकुम(पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-.११ तल्लो सेरा गाउँस्थित जंगलमा सोही ठाउँ बस्ने ३९ वर्षीया दुथी वुढा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

वैशाख २० गतेदेखि सम्पर्क बिहीन भएकी बुढाको खोजी गर्ने क्रममा शव फेला परेको हो । घटनामा शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-६ र ७ को सिमानामा पर्ने मलती खोलामा बाह्रबिसे नगरपालिका-६ यार्सा बस्ने काले तामाङको छोरा ११ वर्षीय सोनाम तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काभ्रे, बनेपा नगरपालिका-१३ ईटागाटोल साँगा बस्ने ६४ वर्षीया रत्न देवी मानन्धर आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित आधी श्रेष्ठको फर्निचर उद्योगमा काम गर्ने भारत मोतिहारी कल्याणपुर घर भएका ३५ वर्षीय लाल बाबु शर्मा उद्योगमा सुतेकै ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी स्याङजा, गल्याङ नगरपालिका-१ परेवा भिर भन्दा मुनी कालीगण्डकी नदीमा भारत लखनउ घर भएका २४ वर्षीय ताहिर खान सोमबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबार गल्याङ नगरपालिका-१ राम्दिस्थित कालिगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको बुझिएको छ ।

त्यसैगरी सुर्खेत, भेरिगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीको किनारमा गुर्भाकोट नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-२ बस्ने ६५ वर्षीय टेक बहादुर गुरुङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यता पाल्पा, रम्भा गाउँपालिका-१ गुरुकुलस्थित कालीगण्डकी नदीको किनारमा भारत लखनउ घर भएका बिलाल अहमद सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार