नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । बुधबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । राजस्थानका लागि रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले भने देबदुत पडिकलले ४८ रन बनाए । दिल्लीका लागि मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले समान २-२ विकेट लिए ।
१६१ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको लागि मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय पारी खेल्दै क्रमश: ८९ र ५३ रन बनाए । त्यस्तै कप्तान ऋषव पन्त १३ रनमा अविजित रहे । राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समान १-१ विकेट लिए ।
जितसँगै दिल्ली १२ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने १२ खेल १४ अंक जोडेको राजस्थान तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किङस र मुम्बई इन्डियन्स भिड्दै छन् ।