नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात टाइटन्स र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा चेन्नई सुपर किङस गुजरातसँग ७ विकेटले पराजित भयो भने राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गरेको हो ।
मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले ५३ रनको अर्धशतकीय पारी खेले भने नारायण जगदिशन ३९ रनमा अविजित रहँदा मोइन अलीले २१ रन बनाए । गुजरातका लागि मोहमद शामीले २ विकेट लिए ।
१३४ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि रिद्दिमान शाहले अविजित रहँदै ६७ रनको अर्धशतकीय पारी खेले भने म्याथ्यु वेडले २० रन बनाए । त्यस्तै सुबमन गिल १८ रन बनाई आउट भए भने डेभिड मिलर १५ रनमा अविजित रहे । चेन्नईका लागि मथिषा पथिरानाले २ विकेट लिए भने मोइन अलीको भागमा १ विकेट रह्यो ।
जितसँगै गुजरात १३ खेलमा १० जितसहित २० अंक जोड्दै तालिकाको पहिलो स्थानमा रहँदै शीर्ष दुईको स्थान पक्का गरेको छ भने १३ खेलमा ८ अंक जोडेको चेन्नई नवौं स्थानमा रहेको छ । त्यसैगरी आईपीएल अन्तर्गत नै आइतबार राति भएको दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई २४ रनले हराएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । राजस्थानका लागि याशभी जैसवालले ४१ रन बनाए भने देबदुत पडिकलले ३९ रन जोडे । यस्तै कप्तान सन्जु सामसन ३२ रन बनाई आउट भए भने रियन परागले १९ रन जोडे । लखनउका लागि रबि बिश्नोईले २ विकेट लिए ।
१७९ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । लखनउका लागि दिपक हुडाले ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै कुर्नाल पाण्डेय २५ रन बनाई आउट भए भने मार्कुस स्टोनिसले २७ रन बनाए । राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान २-२ विकेट लिए ।
जितसँगै राजस्थान १३ खेलमा १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने १३ खेलमा १६ अंक जोडेको लखनउ तेस्रो स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किङ्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।