नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । शनिबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । मुम्बईसँग पराजित भएसँगै दिल्ली प्ले अफमा पुग्न असफल भएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका लागि रोभमान पावेलले ४३ रन जोडे भने ऋषव पन्तले ३९ रन जोड्दा पृथ्वी शले २४ रन बनाए । मुम्बईका लागि जस्प्रित बुम्राहले ३ विकेट लिए भने रमनदीप सिंहको भागमा २ विकेट रह्यो ।
१६० रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि इशान किशनले ४८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३७ रन जोडे । त्यस्तै टिम डेभिड ३४ रन बनाई आउट भए भने तिलक वर्माले २१ रन जोड्दा रमनदीप सिंह १३ रनमा अविजित रहे । दिल्लीका लागि सार्दुल ठाकुर र एन्रिच नोर्कियाले समान २-२ विकेट लिए ।
जितसँगै मुम्बई १४ खेलमा ८ अंक जोडेर पुछारमा रहँदै यो सिजनको सुखद अन्त्य गर्यो भने १४ खेलमा १४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा रह्यो । प्रतियोगिता अन्तर्गत आज सनराईजर्स हैदरावाद र पन्जाब किङ्स भिड्दै छन् । यो आईपीएल सिजनको अन्तिम लिग खेल हो ।