नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा नवप्रवेशी टिम गुजरात टाइटन्स पुगेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
कोलकातामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान सन्जु सामसनले ४७ रन बनाए । त्यस्तै देबदुत पडिकलले २८ रन जोडे ।
गुजरातका लागि मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले समान १-१ विकेट लिए ।
१८९ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा डेभिड मिलरले अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेले भने कप्तान हार्दिक पाण्डय ४० रनमा अविजित रहे । यस्तै सुबमन गिल र म्याथ्यु वेडले समान ३५-३५ रन जोडे । राजस्थानका लागि ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले समान १-१ विकेट लिए ।
जितसँगै गुजरातले आईपीएलको फाइनलमा स्थान सुरक्षित गरेको छ भने राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।