नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ । क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।
राष्ट्रिय पुरुष टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ । पारिश्रमिक बढेसँगै नेपाली टोलीका ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार ‘बी’ र ‘सी’ ग्रेडका खेलाडीले क्रमश: ५० र ४० हजार रुपैयाँ पाउँछन् । त्यस्तै क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, ‘बी’ र ‘ए’ ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ । नयाँ पारिश्रमिकअनुसार ‘ए’ ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, ‘बी’ र ‘सी’ ग्रेडका खेलाडीले क्रमश: १८ र १५ हजार रुपैयाँ तलब पाउँछन् ।
यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु ६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।
टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा
त्यसैगरी क्यानले नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने छ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । उनको अनुसार टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन् ।
बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ । त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ ।