नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । आज (शुक्रबार) अहमदाबादमा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्ने योजना साथ मैदान उत्रदै छन् । आजको विजेताले उपाधिको लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरलाई राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो भने गुजरातसँग पराजित भएपनि राजस्थानले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो ।
यता बैंगलोर भने एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्सलाई १४ रनले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । समूह चरणको खेलमा बैंगलोर र राजस्थानबीच भएको खेलमा दुबै टोलीले समान १-१ जित हात पारेका थिए । बैंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गर्दा राजस्थानले बैंगलोरलाई २९ रनले हराएको थियो ।